हाम्रो बारेमा
नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार क्षेत्रको एक नियामक संस्था हो। यो दुरसंचार ऐन २०५३ तथा दुरसंचार नियमावली २०५४ को प्रावधान अनुरुप २०५३ फागुनमा गठित एक स्वतन्त्र संस्था हो। निजि क्षेत्रको सहभागिता गराई नेपाल अधिराज्यभरि दूरसंचार सेवाको विकास, विस्तार तथा सञ्चालन गर्न आवश्यक स्वच्छ प्रतिस्पधात्मक वातावरणको सिर्जना गर्नु नेपाल दूरसञ्चार प्राधिकरणको प्रमुख उद्देश्य रहेको छ। यसका लक्ष्यहरू:
१. अधिराज्यका ग्रामीण तथा सहरी क्षेत्रमा सर्वसाधारणको पहुँच दूरसञ्चार सेवामा पुर्याउन बसोबास भएका क्षेत्रमा बोलाउँदा सुनिने दूरीमा दूरसञ्चार सेवा उपलब्ध हुने व्यवस्था मिलाउने।
२. अधिराज्यका सहरी क्षेत्रमा माग अनुसार दूरसञ्चार सेवा उपलब्ध गराउने । व्यापारिक क्षेत्रलाई व्यावसायिक (Corporate) दूरसञ्चार सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउने।
३. सहरी क्षेत्रका उपभोक्ताहरूलाई विभिन्न सेवाप्रदायकबाट सेवा चयन गर्न पाउने अवसर प्रदान गर्ने । ग्रामीण क्षेत्रमा पनि सोही अनुरूप सेवा चयन गर्न पाउने व्यवस्थाको विस्तार क्रमशः गर्दै लाने।
४. ग्रामीण क्षेत्रको विकास तथा गरिबी निवारणको लागि उपयुक्त सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्न पाउने व्यवस्था मिलाउने।
उद्देश्य पूर्तिका लागि प्राधिकरण द्वारा सक्रिय रुपमा निम्न बमोजिमका कार्यहरू गरिंदै आएको छ।
क) दूरसंचार सेवाको विकासको लागि श्री ५ को सरकारले अपनाउनु पर्ने नीति, योजना र कार्यक्रमको सम्बन्धमा श्री ५ को सरकारलाई सुझाव दिने ।
ख) दूरसंचार सेवा तथा सुविधा र्सवसुलभ र भरपर्दो बनाउने ।
ग) आधारभूत दूरसंचार सेवा र सुविधा नेपाल अधिराज्भर शहरी तथा ग्रामीण सबै क्षेत्रमा पुर्याउन आवश्यक व्यवस्था गर्ने ।
घ) दूरसंचार सेवा संचालनमा स्वदेशी तथा विदेशी निजी क्षेत्रका लगानीकर्ताहरुलाई सहभागी बनाउने ।
ङ) दूरसंचार सेवा र सुविधा र्सवसाधारण सबैलाई उपलब्ध गराउन त्यस्तो सेवा र सुविधा प्रदान गर्ने व्यक्तिहरु बीच समन्वय र स्वस्थ प्रतिस्पर्धा हुने व्यवस्था गर्ने ।
च) दूरसंचार सेवा र दूरसंचार सम्वन्धी यन्त्र तथा उपकरणहरुको स्तर तोक्ने, गुणस्तर निर्धारण गर्ने तथा स्वीकृत गर्ने ।
छ) दूरसंचार सेवालाई नियमित र व्यवस्थित गर्ने ।
ज) दूरसंचार सेवा संचालन गर्न अनुमतिपत्र दिने ।
झ) अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसंचार सेवा उपलब्ध गराए बापत लिने शुल्क स्वीकृत र नियमित गर्ने ।
ञ) रेडियो प्रिक्वेन्सी नीति निर्धारण समितिद्वारा निर्धारित निम्ति अनुरुप प्रिक्वेन्सी सम्वन्धी काम गर्ने ।
ट) दूरसंचारको क्षेत्रमा नयां प्रविधिको विकास तथा उपयोगबारे अनुसन्धान गर्ने, गराउने ।
ठ) दूरसंचार क्षेत्रको लागि दक्ष जनशक्ति विकास गराउने ।
ड) उपभोक्ताहरुको हकहितको संरक्षण हुने गरी दूरसंचार सेवाको विकास र विस्तार गर्ने, गराउने ।
ढ) दूरसंचारका सम्वन्धमा नेपाललाई अन्तर्राष्ट्रिय ट्रान्जिटको रुपमा विकास गर्ने, गराउने ।
ण) दूरसंचार सेवाको विकास र प्रबर्द्धनको लागि आवश्यक र उपयुक्त अन्य काम गर्ने ।