nta
nta Nepali Version English Version
पछील्लो समाचार
Free Subscribe for Newsletter.
You will be receiving our updated news and programmes via your email.

WWW     www.nta.gov.np

Chairman's Message


नेपालमा दूरसञ्‍चार सेवालाई भरपर्दो र र्सवसुलभ बनाउने, दूरसञ्‍चार सेवामा निजी क्षेत्रलाई समेत संलग्न गराउने तथा त्यस्तो सेवालाई नियमित र व्यवस्थित गर्ने मुख्य उद्देश्य लिएर दूरसञ्‍चार ऐन, २०५३ बमोजिम दूरसञ्‍चार सेवाको निमयनकर्ताको रुपमा आज भन्दा ११ वर्षअघि २०५४ साल फागुन २० गते नेपाल दूरसञ्‍चार प्राधिकरणको स्थापना भएको थियो। उक्त अवधीमा नेपालमा दूरसञ्‍चार क्षेत्रमा उल्लेखनीय उपलब्धी भएको छ। दूरसञ्‍चार क्षेत्रमा निजी लगानीकर्तालाई समेत प्रवेश दिई प्रोत्साहन गरे अनुरुप ४ सेवा प्रदायकबाट टेलिफोन तथा मोवाइल दूरसञ्‍चार सेवा उपलव्ध हुदैं आएका छन। देशमा हाल करीब ५३ लाख टेलिफोनलाईन पुग्न गई, टेलिघनत्व शयमा १९ पुगेको छ। देशको कुल ३९१५ गा.वि.स.हरु मध्ये हाल सम्ममा ३४६९ गा.वि.स.हरुमा टेलिफोन सेवा पुगिसकेको छ। ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न थप सेवा प्रदायकहरुको समेत चयन भै सकेको छन। त्यस्तै ४० वटा सेवा प्रदायकहरुबाट इन्टरनेट/इमेल सेवा उपलब्ध भएका छन। त्यस्तै ५९ जिल्लाका सदरमुकामहरुमा इन्टरनेट सेवाको पि.ओ.पि. (Point of Presence) स्थापना भै स्थानीय कलवाट इन्टरनेट सेवा उपलव्ध भएको छ भने CDMA प्रविधि मार्फत ७५ जिल्लामा Fixed तथा मोवाइल इन्टरनेट उपलब्ध भएको छ। नेपालमा प्रमुख नगर तथा वजार क्षेत्रमा ए.डि.एस.एल, अप्टिकल फाइवर तथा रेडियो माध्यमवाट व्रोडवैण्ड इन्टरनेट सेवा उपलव्ध भै रहेका छन।
 
दूरसञ्‍चारका क्षेत्रमा माथि उल्लेखित उपलब्धि हासिल गरेतापनि विश्वमा दूरसञ्‍चार प्रविधिको द्रूत गतिमा भएको व्यापक विकास, विस्तार र विविधिकरणको प्रत्यक्ष लाभ देशको शहरी तथा ग्रामीण क्षेत्रसम्म पुर्‍याई समग्र आर्थिक सामाजिक विकासमा टेवा पुर्‍याउन र दूरसञ्‍चार सेवालाई विश्वसनीय, गुणस्तरीय बनाउन आवश्यक पर्ने वातावरण तयार गर्ने सन्दर्भमा समेत हाम्रा प्रयास र कदमहरु पर्याप्त भएको भनी सन्तोष लिने ठाउं छैन।
 
पर्याप्त प्रतिस्पर्धा रहेको क्षेत्रमा बजारलाई मूख्य नियामक मान्दै आएको अवस्थामा दूरसञ्‍चार क्षेत्रको विकासमा पनि मूलतः बजार आंफैले नियमन गर्छ भन्ने मान्यता लिई प्राधिकरणवाट नियमनका सिलसिलामा न्यून मात्रामा मात्र हस्तक्षेप गर्दै आएकोमा नेपाल जस्तो राज्यमा ग्रामीण क्षेत्रमा सेवाको विस्तार गर्न, ग्रामीण र शहरको बिचको विभाजन कम गर्न, व्रोडवैण्ड लगायत दूरसंचारको क्षेत्रमा भएको विकास अनुरुप नयां सेवाहरु उपलग्ध गराउन, सेवाको स्तर वृद्धि गर्न, सेवालाइ सर्वसुलभ वनाइ उच्च गुणस्तरिय सेवा उपभोक्ताले प्राप्त गर्ने वातावरण बनाउन हातहातमा मोवाइल तथा घरघरमा इन्टरनेट भन्ने नारा साकार पार्न प्राधिकरणले थप कदम चाल्नुपर्ने आवश्यकता भएको महसूस गरेका छौ।
 
हामी नयां नेपाल निर्माणको संघारमा छौं। संघीय लोकतान्त्रीक, गणतन्त्रात्मक समावेशी शान्त समृद्ध नेपालको खाका कोरिदै गरेको वर्तमान अवस्थामा सूचना तथा सञ्चार प्रविधिका विविध सेवाहरुको महत्व झन बढेको छ। यसै सन्दर्भमा आगामी दिनहरुमा नेपाल सरकार तथा समस्त नेपाली जनता समक्ष देहायका प्रतिवद्धता व्यक्त गर्दछौ ।
 
1)    दूरसञ्‍चारका उपभोक्तालाई गुणस्तरीय र सर्वसुलभ सेवा उपलब्ध गराउने तर्फ सेवा प्रदायकहरुसंग आवश्यक समन्वय गरी लगातार निगरानी गर्ने व्यवस्था मिलाइने छ।
2)    आगामी १ वर्षभित्रमा नेपाल राज्यका सबै गा.वि.स.हरुमा टेलिफोन सेवा उपलब्ध हुने वातावरण मिलाइने छ।
3)    आगामी ५ वर्ष भित्रमा सबै गा.वि.स.मा इन्टरनेट सेवाको पहुंचको वातावरण मिलाइने छ।
4)    नेपाल सरकारको E-governance को अवधारणा साकार पार्न आवश्यक पर्ने दूरसञ्‍चारको पुर्वाधार तत्काल शुरु गरी आगामी ५ वर्षभित्रमा सबै गा.वि.स.हरुमा पुर्‍याउने व्यवस्था मिलाइने छ।
5)    ताररहित प्रविधिमा आधारित दूरसञ्‍चार सेवा प्रदान गर्न आवश्यक पर्ने फ्रिक्वेन्सी जस्ता सीमित श्रोतहरुलाई पारदर्शी, व्यवस्थित र विश्वसनीय ढंगबाट बांडफांड गर्ने व्यवस्था मिलाइने छ।
6)    देशको भौगोलिक अवस्था अनुरुप उपयुक्त प्रविधिको प्रयोग गरी आगामी ५ वर्ष वैकल्पिक सूचना महामार्गहरुको स्थापना गरिने व्यवस्था मिलाइने छ।
7)    आगामी ५ वर्षभित्र प्रत्येक जिल्ला सदरमुकाम सम्म अप्टिकल फाईवर मार्फत ब्रोड वैण्ड सेवा उपलब्ध हुन सक्ने वातावरण मिलाइने छ।
 
उपरोक्त लक्ष्यहरु हासिल गर्न प्राधिकरण कटिवद्ध छ र यस कार्यमा सम्वद्ध सवै पक्षबाट सहयोग प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं। सबै सुभेच्छुकहरु प्रति आभार व्यक्त गर्दछौ।